माङसेबुङ । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामको अध्यक्षमा प्रशान्त साउदेन लिम्बू सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार माङसेबुङ ५, अवस्थित किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामको आयोजित चौथो सम्मेलनले साउदेनको अध्यक्षमा १० सदस्यीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको हो ।
Advertisement

समितिको उपाध्यक्षमा वीरेन्द्र साबा , सचिवमा मिलन थलङ लिम्बू , कोषाध्यक्षमा नरवीर सोङमी रहेका छन् । यसैगरी सदस्यहरुमा यामहाङ चेम्जोङ, शान्ताकला राई,राधिका चेम्जोङ , केदारकुमार राई, शुकवीर राई , पुनहाङ योङहाङलाई चयन गरिएको छ ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको उपाध्यक्ष होमबहादुर लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा विशेष अतिथि किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष भगिहाङ नेम्वाङ, उपाध्यक्ष सन्चहाङ सम्बाहाङफे, कोषाध्यक्ष प्रकाश साउदेन, गुरुनिजि आश्रम समिति अध्यक्ष टीकाराम केरुङ, गौशाला समिति अध्यक्ष वीरबहादुर आङला, गुरुनिजि आश्रम अर्थ समिति उपाध्यक्ष अशोक सबेन्हाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लिङ्देनको हस्तबाहुलिबाट किरात साम्यो माङसेवासाबा थुम इलामको स्मारिका पुस्तक सार्वजनिक समेत गरिएको थियो ।
किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामको अध्यक्ष जंगलाल साम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव नवीन फागोले सञ्चालन गरेको थिए ।




















