माङसेबुङ गाउँपालिकाको तथ्यांकअनुसार पनि यो क्षेत्रमा कोदो खेती घट्दै गएको हो । माङसेबुङमा खेती योग्य जमिन २८ प्रतिशत रहेको छ । त्यसमा पनि कोदो खेती २ प्रतिशत मात्र खेती हुने गरेको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । शाखाकी नयाब प्राविधिक सहायक निरुपा राईका अनुसार माङसेबुङ सबै वडामा कोदो खेती हुँदै आएको छ । तर, सबै वडामा किसानले आंशिक मात्र गोदो खेती गर्दै आएका हुन् । ‘पछिल्लो समय कोदो खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि घटेको छ,’ उनले भनिन् ।

Advertisement

पौष्टिक तत्वले भरिपूर्ण कोदो बालीको उत्पादन दिनानुदिन घट्दै गइरहेको माङसेबुङ–५ नामतोक्ला टोलकी किसान कलावती शेर्माले बताइन् । ‘स्वास्थ्यको लागि समेत उपयोगी खाद्यन्न कोदो खेती प्रवद्र्धन तथा संरक्षण र किसानलाई प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भनिन्, ‘कोदो खेतीको विकासका लागि गाउँपालिकाले किसानलाई अनुदान दिने र उत्पादन भएपछि बजार खोजिदिनेसम्मको काम गरेमा कोदो खेती फेरि बढ्न सक्थ्यो ।’
कोदो प्रायः परम्परागत शैलीमा गरिने खेती नेपालमा धान, मकै, गहुँ पछिको चौथो महत्वपूर्ण अन्न बालीको रूपमा कोदोलाई लिन सकिन्छ । कोदो नेपालको रैथाने बालीमा सुचिकृत अन्नबाली हो । कोदोलाई पहाडी क्षेत्रमा मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदो खेती तराईदेखि उच्च पहाडी क्षेत्रको समुन्द्र सतहदेखि ३ हजार १ सय मिटरसम्मको उचाईसम्म गर्न सकिन्छ । मुख्य खाद्यन्न बाली कोदो स्वाथ्य, कृषि र आर्थिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मानिन्छ ।

पहाडी क्षेत्रमा पाखाबारी जमिनमा कोदो खेतीका निकै उपयुक्त मानिन्छ । तर, पछिल्लो समय यही कोदो खेती घट्दै गएको हो । माङसेबुङ गाउँपालिका–३ मनिपुरका याम योङहाङका अनुसार जनघनत्व बढ्दै जाँदा खेतीयोग्य जमिन घट्ने भएकोले पहिलाको तुलनामा कम उत्पादन हुने गरेको छ । अहिलेसम्म व्यवसायिक रूपमा कोदो खेती नभएको उनी बताउँछन् । ‘अन्य खेती जस्तो बेचेर आम्दानी गर्ने भनेर कोदो खेती भएको मलाई याद छैन,’ उनले भने, ‘घरैमा खानको लागि मात्र उत्पादन गरिएछ । यो रैथाने बालीलाई संरक्षण गर्न सके राम्रो हुने थियो ।’

यद्यपि माङसेबुङका केही होटलमा अहिले कोदोको परिकार पनि पाइने गरेको छ । यसले कोदो खेती प्रवर्द्धनमा पनि सहयोग पुगेको छ । माङसेबुङ –५ का हाङलाप्चा होटलमा कोदोको परिकार पाइने गरेको छ । कोदोको बहुगुण रहेकाले रोटीसँगै खोले, ढिँडोलगायत परिकार पाइने होटलकी सञ्चालक सेमी आङदेम्बे लिम्बू बताउँछिन् । माग बढ्दै गए पनि किसानले उत्पादन नगर्दा कोदो पाउनै छाडेको उनको भनाइ छ । ‘स्वास्थ्यवर्द्धक भएका कारण कोदोको परिकारको माग बढ्दै गएको छ । तर, उत्पादन घट्दो भएकाले कोदो पाउनै मुस्किल छ,’ उनले भनिन्, ‘कोदोको परिकारको माग होटल, होमस्टेमा पछिल्लो बढ्दै गएको छ । रैथाने बाली कोदोलाई स्थानीय तहले पनि प्रवर्द्धन गरेर किसानलाई खेतीतर्फ प्रोत्साहन गर्न आवश्यक छ ।’

माङसेबुङ गाउँपालिका –५ की दीलमाया चेम्जोङ लिम्बूले परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी कोदो खेती गर्दै आएकी छन् । अन्य बालीमा जस्तो समय समयमा विषादी हाल्ने झन्झट कोदोमा नरहेको उनी बताउँछन् । ‘अरू बालीजस्तो कोदो खेतीमा किरा नलाग्ने भएकोले विषादी प्रयोग गर्नु पर्दैन,’ उनी भन्छिन् ।
माङसेबुङ गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०८१ को बनाएको छ । कृषि क्षेत्रको विस्तार र उत्पादन वृद्धि, किसानको आयआर्जन र व्यवसायिक कृषिको विकासलाई प्राथमिकतामा राख्दै माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सिलाम (बोमाक) रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय रैथाने बाली संरक्षण तथा उत्पादनमा वृद्धि गर्ने उद्देश्यले माङसेबुङ गाउँपालिकाले २० लाख रुपैयाँ लागतमा ५० जना किसानहरू लाभान्वित हुनेगरि फापर खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि क्षेत्रको विस्तार र उत्पादन वृद्धि, किसानको आयआर्जन र व्यवसायिक कृषिको विकासलाई प्राथमिकतामा राख्दै माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै कृषि शाखाको अनुसार चालु आर्थिक वर्षमा ११ वटा प्रमुख कार्यक्रमबाट २ हजार ६ सयभन्दा बढी किसान तथा कृषक समूहहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । गाउँपालिकाले कृषि उत्पादन वृद्धिको लागि किसानहरूलाई सिमी, बोडीजस्ता बीउ वितरण गर्दै आए पनि कोदो खेतीमा भने चासो नदेखाएको किसानको गुनासो छ ।

खाद्य सुरक्षाको दृष्टिकोणले कोदोको महत्व धेरै छ । स्थानीयस्तरमा परम्परागत कोदोबाट बन्ने परिकारहरू कोदो रोटी, खोले, सुप, ढिँडो बनाइन्छ । कोदोबाट परम्परागत मदिरा तोङ्बा, रक्सी, जाँड बनाइन्छ । आदिवासी जनजाति समुदायको सांस्कृतिक परम्परा, चाडपर्वमा कोदोकोे मदिरा अनिवार्यजस्तै हो । पछिल्लो समय बिस्कुट, मःमलगायतका परिकारसमेत बनाइँदै आएको छ । तर, कोदोको उत्पादन भने निरन्तर ओरालो लाग्दो छ । यसले एकातिर परम्परागत रैथाने बालीको खेती घटेको देखाउँछ भने अर्कोतर्फ पौष्टिकताका दृष्टिले महत्वपूर्ण कोदो अन्नबालीको उत्पादन घट्नुले पोषणमा समस्या हुन सक्ने जोखिम रहन्छ ।