भोजपुरमा ९६ औं समाज सुधार दिवसको अवसरमा माङखिम उद्घाटन

भोजपुरको आमचोक गाउँपालिका ६ अवस्थित निर्मित माङखिम बैशाख २४ गते उद्घाटन गरिएको छ ।

९६ औं समाज सुधार दिवसको अवसरमा भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा निर्माण गरिएको किरातेश्वर माङखिमलाई पुनः उद्घाटन गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई र विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले माङखिमलाई उद्घाटन गर्नु भएको थियो ।

९६ औं समाज सुधार दिवस तथा किरातेश्वर माङखिम उद्घाटन कार्यक्रममा विशेष अतिथि भोजपुरको आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, वुद्धिजीवी एवं समाजसेवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य टट्बहादुर पन्धाक, किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तिय शाखा समिति भारतका अध्यक्ष पूर्णबहादुर सुनुवार, अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य पूर्णकार्की ढोली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरलले सत्यधर्म मुचुल्का र समाज सुधार सम्बन्धि कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । भने, माङखिम निर्माणका लागि भूमिदान गर्ने धनबहादुर इशारा राई र श्रीमति कृष्णकुमारी राईलाई आयोजकले सम्मान गरेका छन् । राई दम्पतिले माङखिम निर्माणका लागि १४ रोपनी ८ आना २ पैसा २ दाम जग्गा दान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा माङलाङ, केलाङ, साकेला, तामाङसेलो लगायत विविध सांस्कृतिक प्रस्तुतिहरु पनि किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो बेलडाँगी झापाका कलाकारहरुले प्रस्तुत गरेका थिए । कार्यक्रमको लागि अरुण नदीको कोप्चेमा साक्मुरा वादेम्मा र माङखिममा येत् नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो ।

९६ औं समाज सुधार दिवस तथा किरातेश्वर माङखिम पुनः उद्घाटन मूल समारोह समितिका अध्यक्ष सम्बरबहादुर थुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भोलाकाजी साम्पाङले राखेको थियो भने, कार्यक्रम चिरञ्जीवी खालिङ र सरिता राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु