माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

OLYMPUS DIGITAL CAMERA

इलाम : सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्न योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत एवम् विभिन्न शाखाका प्रमुखहरूको उपस्थितिमा नागरिकले राखेका गुनासा, सुझाव र जिज्ञासामा खुला छलफल गरिएको थियो ।

Advertisement

कार्यक्रममा पहिलो चरणमा गाउँपालिकाले चालु आर्थिक वर्षमा हालसम्म भएका काम, बजेट कार्यान्वयनको अवस्था, सेवा प्रवाहको स्थिति तथा आगामी योजनाबारे जानकारीसहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले प्रस्तुत गरिएका थिए ।

त्यस्तै तेस्रो पक्ष बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट तयार गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन सहजकर्ता राम योङहाङले प्रस्तुत गरका थिए । नागरिक प्रतिवेदनमा सुझाव र बहिर्गमन प्रतिवेदनमा राम्रा पक्ष र सुधार गर्नुपर्ने विषय समेटिएको थियो ।

दोस्रो चरणमा सेवाप्रदायक निकाय माङसेबुङ गाउँपालिका र सेवाग्राहीबीच सवालजवाफ भएको थियो ।

कार्यक्रममा सहभागीहरुले विकास निर्माणदेखि सेवा प्रवाहसम्मका विषयमा खुला रूपमा प्रश्न उठाउँदै आफ्ना गुनासा र सुझाव प्रस्तुत गरेका थिए । सहभागी नागरिकले विकास निर्माण, सेवा प्रवाह, लक्षित वर्षको कार्यक्रम, कृषि क्षेत्रको समस्यालगायत विभिन्न क्षेत्रसँग सम्बन्धित समस्या र जिज्ञासा राखेका थिए । कार्यक्रममा समीक्षा खड्का, हरि राई, कमलबहादुर कार्की, डम्बरबहादुर कार्की र रमेश बस्नेतलले लिखित र मौखिक प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

नागरिकको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत एवम् कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारले दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष राईले नागरिकका सुझाव र गुनासालाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिने बताए । उनले भने, ‘सार्वजनिक सुनुवाइ जनतासँग प्रत्यक्ष संवाद गर्ने महत्त्वपूर्ण अवसर हो । यहाँबाट आएका सुझाव र गुनासालाई सम्बोधन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रयास गर्नेछौं ।’

उपाध्यक्ष नेम्बाङले सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामप्रति नागरिकको विश्वास बढाउन मद्दत गर्ने बताए ।  प्रमुख प्रशासकीय अधिकृत राईले नागरिकले उठाएका समस्या र जिज्ञासालाई समाधान गर्न कार्यालय प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा नगरवासीको सहभागिता रहेको थियो । गाउँपालिकाले नागरिकबाट प्राप्त सुझाव र गुनासालाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्ने जनाएको छ ।

nayabuland.com

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु