इलाम : माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा मिक्लाजुङ फुटबल क्लब पाँचथरले विजयी सुरुवात गरेको छ।
माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेल मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरले लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गरेको छ।
Advertisement
खेलको हाफमा मिक्लाजुङकी कृतिका राई गरेको गोल निर्णायक बनेको थियो। कृतिका आजको खेलको उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५७० प्राप्त गरेकी छन । भोलिको खेल पद्मा स्पोर्टस क्लब, ओखलढुङ्गा र दारिम्बा फुटबल क्लब पाँचथरबीच हुनेछ |
प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब रहेको छ ।
प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।





















