पेशाले शिक्षक रहेका लेखक मन कुमार लिम्बू ( आङबुहाङ अबोध अविरल ) ले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनलाई केन्द्रमा राखेर लिम्बुवान आन्दोलन नामक पुस्तक हालसालै सार्वजनिक गरेका छन् ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ७२ औ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा गत मंसिर १९ गते धर्मगुरु तथा गुरुआमा ज्यूहरुको हस्तबाहुलीबाट सो पुस्तक विमोचन गर्नुभएको हो । लिम्बुवान आन्दोलन र विभिन्न विधामा कलम चलाउदै आएका आङबुहाङको यो पहिलो कृति हो ।
Advertisement

२०६२–६३ मा ऐतिहासिक जनआन्दोलन २ सफल भएपछि नेपाली राजनीतिमा अधिकार र पहिचान निम्ति थुप्रै आन्दोलनहरु भए । यी मध्येको एक हो ‘लिम्बुवान आन्दोलन’ । आदिवासी पहिचान र अधिकारका निम्ति भएको सो आन्दोलन दुई दसकपछि धेरैले बिर्सदैं गएका छन् । तर, लिम्बुवान आन्दोलनलाई स्मरण गराउने ‘पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलन लिम्बुवान आन्दोलन’ नामक पुस्तक भर्खरै प्रकाशनमा ल्याएका छन्, मन कुमार लिम्बू (आङबुहाङ अबोध अविर) ले ।
आङबुहाङले जनआन्दोलनपछि किन लिम्बुवान आन्दोलन उठ्नका कारणहरु खोज गरेका छन् । लिम्बुवान आन्दोलन गर्ने राजनीतिक दल र सामाजिक संस्थाहरु र उनीहरुका मागहरुलाई मिहिन अध्ययन गरेका छन् । लिम्बुवान आन्दोलनका क्रममा गरिएका आन्दोलनका गतिविधिहरुलाई चर्चा गरेका छन् । यसैगरी लिम्बुवान आन्दोलनका मागहरु पूरा नभएपनि यसले राजनीतिक, भाषिक र सांस्कृति क्षेत्रमा पु¥याएको सकरात्मक प्रभावलाई उनले सबिस्तार व्याखा गरेका छन् ।
पुस्तकमा आङबुहाङले लिम्बुवान प्राप्ति नहुनका कारणहरु र लिम्बुवान आन्दोलनका कमजोरीहरु फरक ढंगले बिष्लेषण गरेका छन् । आङबुहाङको अनुसन्धनात्मक पुस्तक जनआन्दोलन २ पछि उठेको लिम्बुवान आन्दोलनको संक्षिप्त इतिहास हो । माङसेबुङ पब्लिकेशन एण्ड मेडिया प्रालिले प्रकाशन गरेको पुस्तको मूल्य २५० रुपैया रहेको छ ।





















