केर्खामा १४१ औं महागुरु फाल्गुनन्द जयन्ती भव्य मनाइदै

माङसेबुङ ।   किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा  राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती समारोह कार्यक्रम भव्यताकोसाथ मनाइने भएको छ ।

मंगलबार भोलि कातिक २५ गते झापाको कमल गाउँपालिका ३, फाल्गुनन्द टोलमा आयोजित  केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको  माङ सवार हुने भएको हो ।

Advertisement

महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती मूल समारोह समुद्घाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ तथा अङसीमामाङको माङ सवार हुने  किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष झापाको केर्खामा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । समारोह समुद्घाटनसँगै अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोत्लुङ माङहिम उद्घाटन तथा महागुरु फाल्गुनन्दको सालिक अनावरण कार्यक्रम हुने मूल आयोजक समितिका अध्यक्ष सूर्यप्रसाद यक्पाङदेन लिम्बूले बताए ।

 

जन्मजयन्ती कहाँ कहाँ मनाइँदै छ ?

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाइदैछ । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् ।

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ ।

पछिल्लो समयमा नेपालमा मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ । किरात धर्मदर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्म १९४२ कातिक २५ गते इलामको इभाङस्थित चुक्चिनाम्बा डाडागाउमा भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु