आत्मानन्द कप मंसिर ७ गतेदेखि शुरु

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ ।

सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आङबुहाङले जानकारी दिए । सहभागी टिमहरुमा नेपालबाट दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा, दुधे युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पान्थर, माङसेबुङ गाउँपालिका र युथ अफ माङसेबुङ इलाम रहेका छन् । यसैगरी भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी रहेको छ ।

Advertisement

प्रतियोगितका विजेताले नगद रू. ३ लाख ११ हजार एक सय ७२ र उपविजेताले रू.२ लाख ११ हजार एक सय ७२ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवर्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही रू.८१७२ का साथ नगर र ट्रफी प्रदान गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । यसैगरी उदयमान खेलाडी, उत्कृष्ट कोचले जनही रू.८१७२ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले रू.५१७२ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा फुटबलको साथै म्याराथन, छेलोे हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका खेलहरुसमेत आयोजना हुने आयोजकले जनाएको छ । खेलको आयोजना किरात धर्मगुरु नोमाङगेन्ना सेवा समितिको मातहतमा रहेर आत्मपवित्र खेल कुद समितिले आयोजना गर्ने छ ।

आत्मानन्द कप प्रदेश नं १ मा आयोजना गरिने एक प्रतिष्ठित फुटबल प्रतियोगिता रहेको छ । यो सालको आत्मानन्द कप १८औं संस्करण रहेको छ । गत सालको आत्मानन्द कप दुधे युथ क्लब झापाले जितेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु