मण्डलामा माघ ४ देखि ‘मुक्कुम्लुङ’ नाटक मञ्चन हुने

झापा / मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् ।

मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलनसम्मको घटना क्रमहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

Advertisement

पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बू)हरूको पवित्रस्थल रहेको, यहाँ केवलकार स्थापना गरिँदा मुक्कुम्लुङ र लिम्बूहरूको सम्बन्ध विस्थापन हुने र त्यहाँ प्रकृतिको दोहन हुने भएकाले स्थानीयसहित सरोकार भएकाले ‘नो केवलकार’ आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटरका अध्यक्ष विष्णु मोक्तानले बताए।

निर्देशक सुब्बाले भने, “यो नाटक, नाटक मात्रै होइन । आन्दोलन पनि हो ।” नाटकका लेखक गीलु रातोसका अनुसार मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्ने गर्छन् । अहिले त्यही शिर माथि भएको दमनविरुद्ध सर्जकहरूको आन्दोलनका रूपमा यस नाटकलाई लिन सकिने उनले बताए।

अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के राई, भूमिका थारूलगायत कलाकारको अभिनय रहने छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु