पाँचथर। फिदिम नगरपालिका–४ गढीस्थित ऐतिहासिकस्थल सुम्हात्लुङको प्रचार प्रसार एवंम् पर्यटन प्रवर्द्धन लागि आयोजित सातौं संस्करणको सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पूरुषतर्फ पाँचथरका प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै पुष्पा शेर्मा लिम्बूले जितेका छन्।
शनिबार भएको मिनि म्याराथनमा निर्धारित नौ किलोमिटरको दूरी २६ मिनेट ३० सेकेण्डमा पार गर्दै फिदिम नगरपालिका–१० पाँचथरका प्रताप विजेता बने। उनले नगद ३० हजार रुपैंयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। २७ मिनेटमा निर्धारित दूरी पार गरेका मैवाखोला गाउँपालिका–६ ताप्लेजुङका अमिर तेङबुङ द्वितीय बने। नगद २० हजार रुपैंयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। २७ मिनेट दश सेकेण्डमा निर्धारित दूरी पार गरेका राजविराज–१२ सप्तरीका अजित कुमार यादव त्रितीय बने। उनले नगद दश हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे।
Advertisement
फक्ताङलुङ गाउँपालिका–६ ताप्लेजुङका रमेश लिम्बू चौंथो, म्याङलुङ नगरपालिका–९ तेह्रथुमका सरोज लिम्बू पाँचौं, मिक्लाजुङ गाउँपालिका–१ पाँचथरका ओशन राई छैठौं, फिदिम नगरपालिका–१४ पाँचथरका बिशाल राई सातौं र मिक्लाजुङ गाउँपालिका–७ मोरङका याङदेव राई आठौं भए। उनीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै महिलातर्फ मिक्लाजुङ गाउँपालिका–२ पाँचथरकी पुष्पाले उपाधि जितिन्। उनले नगद १५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। महिलातर्फ द्वितीय भएकी खाँदबारी नगरपालिका–२ संखुवासभाकी नुनकला राईले नगद दश हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै त्रितीय भएकी फिदिम नगरपालिका–१ पाँचथरकी सबिता राईले नगद पाँच हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरिन्।
महिलातर्फ चौंथो हुने रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी जुलिन राई, पाँचौं हुने फिदिम नगरपालिका–४ की मेन्छोना तुम्बापो, छैंठौं हुने फिदिम नगपालिका–६ पाँचथरकी सोनिका गोले, सातौं हुने फालेलुङ गाउँपालिका–४ पाँचथरकी आशिका राई र आठौं हुने फिदिमकी सृष्टि राईलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
फिदिम नगरपालिका–४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीको पर्यटन प्रबद्र्धनका लागि बर्षेनी चासोक मेलाको अवसरमा मिनि म्याराथन आयोजना गरिँदै आएको फिदिम–४ का वडा अध्यक्ष उपेन्द्र लाओतीले बताए । पुस १० देखि सुरु भएको यस वर्षको चासोक मेला पुस २० गतेसम्म चल्ने उनले जानकारी दिए । sumhatlungtimes.com