झापा । झापा कपको उपाधि चर्च बोइज युनाइटेडले चुमेको छ । झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा एनरआटीलाई ३–१ ले पराजित गर्दै चर्च बोइजले उपाधि चुमेको हो ।
बिजेता बनेसँगै चर्च बोइजले नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गरेको छ । यता, उपविजेता बनेको एनआरटीले भने नगद पुरस्कार पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ ।
Advertisement
चर्च बोइजको जितमा अर्मान्ड बिडोमले दुई गोल र सपमर तामाङले एक गोल गरे । एनआरटीका लागि अञ्जान विष्टले एक मात्र गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच चर्च बोइजका समीर घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च बोइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जान बिष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए । मोस्ट भ्यालुएबल प्लेयर चर्च बोइजका रोहण भए । उनले एक लाख रुपैयाँ पुरस्कार पाए ।
यसैबीच, झापा–११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले २५ हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।