माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि आज दुधे युथ क्लब, झापा र तिजोक युवा क्लव, पाँचथरबिच प्रतिस्पर्धा हुदैंछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार उपाधि भिडन्तमा दुधे झापा र तिजोक पाँचथर प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो २ ः ३० वजे सुरु हुनेछ ।
Advertisement
यसअघि हिजो बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको हो ।
यसैगरी शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको हो ।