माङसेबुङ । डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव, पाँचथर इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर फाइनलमा प्रवेश गरेको हो ।
Advertisement
तिजोक पाँचथरको जितमा दुवै गोल निर्देश राईले गरे । दमक भाङबारीका लागि भने रोहन भुजेलले एक गोल फर्काए । जितसँगै तिजोक पाँचथरले उपाधि भिडन्तमा दुधे झापासँग भेट पक्का गरेको छ ।
पहिलो हाफमै ८ खेलाडीमा सिमित हुन पुगेको दमक भाङबारी सेमिफाइनलबाट बाहिरिएको छ । अशोक खवास रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दमक भाङबारी ८ खेलाडीमा सिमित भएको हो ।
पहिलो हाफको अतिरिक्त समयमा निर्देश राईले गोल गर्दै तिजोक पाँचथरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा निर्देश राईले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो । तर, खेल सकिनै लाग्दा दमक भाङबारीका लागि रोहन भुजेलले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि नतिजा भने २–१ ले तिजोकलाई सुम्पेका छन् ।
खेलको मेन अफ दी म्याच तिजोक पाँचथरका निर्देश राई घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।





















