दुधे युथ क्लब झापा आत्मानन्द गोल्डकपको सेमीफाइनलमा

माङसेबुङ । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै टिमले एक एक गोलको बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा दुधे झापाले बाजी मार्यो ।

Advertisement

 

टाईब्रेकरमा दुधेको जितमा मनिस लिम्बू, अमन लिम्बू, तकेन मगर र सन्जोग मगरले गोल गरे । चुलाचुलीका लागि भने जंग खड्का र रोहन चौधरीले मात्र गोल गरे । सञ्जय लिम्बू र समिर तामाङको प्रहार दुधेका गोलरक्षक सन्दीप लिम्बूले बचाएका थिए ।

खेलको मेन अफ दी म्याच दुधेका गोलरक्षक सन्दीप लिम्बू घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे । उनी झापा ११ का गोलरक्षक समेत हुन् ।

यसअघि खेलको २२औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै दुधेलाई अग्रता दिलाएका थिए । तर, खेलको ३६ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चुलाचुलीलाई बरारीमा फर्काए ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोहको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा जारि प्रतियोगिता अन्तरगत पहिलो चरणको अन्तिम खेलमा भोलि बुधबार तिजोक यूवा क्लब, पाँचथर र पाहुना टोली एम.एफ.सि. दार्जिलिङ, भारत आमुने सामुने हुनेछन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु