आत्मानन्द कप माङसेबुङ इलामलाई हराउदै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश

माङसेबुङ । सिरिजङगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सुरु भएको १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

खेल निर्धारित समयमा गोल रहित बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मोरङले बाजी मार्यो ।

सिरिजङगा मोरङको जितमा आशिस लावती, साउरे राउत, धिरेन क्षेत्री, र रोशन धिमालले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षकले बचाएका थिए । यस्तै माङसेबुङका बिशाल दर्जी, प्रविण राई र महेन्द्र लिम्बूले गोल गर्दा रचिन माझीको प्रहार बाहिरियो भने, मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजर गच्छदारले रोकेका थिए ।

खेलको मेन अफ दी म्याच सिरिजङगा मोरङका गोलरक्षक प्रमिजर गच्छदार घोषित भए । उनले नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी भोलि सोमबार आयोजक र दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुनेछ । जसमा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम।एफ।सि। दार्जिलिङ पाहुना टोलीको रुपमा सहभागी रहेको छ ।

यसैगरी आज नै भएको सञ्चारकर्मी र शैक्षिक कर्मचारी टिमविच भएको मैत्रीपुर्ण खेलमा शैक्षिक कर्मचारी टिम १–० गोलले विजयी भएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा मंसिर ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ९छेलो हान्ने०, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।

खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु