इलाम । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसरमा सन्दकपुर गाउँपालिका वाडा नं ४, मावु, हाङमादेनका वेग बहादुर सावदेन र धनप्रसाद सावदेन साथै इलाम नगरपालिका बरबोटेका काजीमान नुगो सम्मानित भएका छन् ।
किरात धर्म दर्शनलाई सन्दकपुर मावु क्षेत्र र आसपासका ठाँउहरुमा उचाईमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउनु भएका किरात धर्मका अग्रज वेग बहादुर सावदेन, धन प्रसाद सावदेन र काजमिान नुगोलाई सम्मान गरेको हो ।
Advertisement
आइतबार इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती, महागुरु प्रतिमा अनावरण तथा नवनिर्मित किरात फाआप मिङसो माङहिमको उद्धघाटन आशीर्वचन कार्यक्रम पश्चात साँझ भएको बृहत साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथी गितकार तथा सञ्चारकर्मी आन्छुमे नसान र लोकप्रिय गायिका थोकफेला लिङदेनले सम्मान पत्र र खदा ओडाएर सम्मान गरेका थिए ।
किरात धर्म दर्शन र समाज सुधारको लागि इलाम जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा विशेष गरेर मावुमा सुधार ल्याउन दिलो ज्यान दिएर लागिपर्नुभएकोले वहाँहरुको योगदानको उच्च कदर गर्दै वहाँहरुलाई सम्मान गरेको मुल आयोजक समितिका अर्थिक सह–संयोजक तथा साँस्कृतिका विभाग प्रमुख प्रकाश सावदेनले बताए ।
सम्मानित व्यक्तित्वहरुले गर्दा मावु लगायतका असापासका क्षेत्रहरुमा किरात धर्मले उचाई पाएको मुल आयोजक समितिका आर्थिक संयोजक प्रशान्त सावदेनले बताए ।
कार्यक्रममा लोकप्रिय गायिका थोकफेला लिङदेन, लोकप्रिय गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङ, लोकप्रिय गायक तथा संगीतकार राजसुक्र लिम्बू, लोकप्रिय गायक राज लावुङ, प्रथम इलाम तारा विजय फागो, गायक मन थुलुङ र उम्दा गायक दिलिप माखिम लगायतले साँगितिक प्रस्तुति दिएका थिए ।
मुल आयोजक समितिका अध्यक्ष धन प्रसाद सावदेनको अध्यक्षतामा किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरु साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन विविहाङ सावदेन ‘मावुले कान्छा’ले गरेका थिए ।