माङसेबुङ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ४ माबु हाङमादेनमा निर्माण सम्पन्न किरात माङहिम उद्धघाटन र महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको प्रतिमा अनावरण आगामी कातिक २५ गते हुदैछ ।
किरात धर्म दर्शनदाता , महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १४० औँ जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको देव उपस्थितिमा वहाँहरुको हस्तबाहुलीबाट आगामी कातिक २५ गते उद्धघाटन गर्न लागिएको हो ।
Advertisement
माङहिमको नामकरण राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको नामको पहिलो अक्षर ‘फा’, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यूको नामको पहिलो अक्षर ‘आ’ र गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नामको पहिलो अक्षर ‘प’ मिलाएर किरात फाआप मिङ्सो माङहिमको नामाकरण गरिएको मुल आयोजक समितिका सचिव विवीहाङ सावदेन ‘मावुले कान्छा’ले बताएको छ ।
करिवन एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको किरात फाआप मिङ्सो माङहिमको शिलन्यास भने २०७३ साल भदौमा तत्कालिन संसद तथा पुर्व राज्यमन्त्री केशव थापाले गरेका हुन् । विश्वमा छरिएर रहेको किरात धर्मावलम्बी भक्तजनहरुको आर्थिक सहयोग तथा स्थानिय, प्रदेश र संघिय सरकारको समेत सहयोगमा माङहिमको निर्माण सम्पन्न गरिएको मुल आयोजक समितिका अध्यक्ष धनप्रसाद सावदेनले बताएको छ ।
यसैगरी करिवन २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको महागुरुज्यूको सालिक स्थापना गर्न समेत विश्वमा छरिएर रहेको किरात धर्मावलम्बी भक्तजनहरुको आर्थिक सहयोगबाट सम्भव भएको मुल आयोजक समितिका आर्थिक संयोजक प्रसान्त सावदेनले बताए । उनका अनुसार कार्यक्रम सम्पन्न गर्न समेत किरात धर्मावलम्बी भक्तजनहरुको आर्थिक सहयोग सबैठाउँबाट आईरहेको बताए ।