माङसेबुङ: किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती इलामको सन्दकपुर ४ माबुमा भव्यताका साथ मनाइने भएको छ ।
महागुरु फाल्गुनन्द लिङ्देनज्यू जन्मजयन्तीको अवसरमा आगामी कार्तिक २५ गते इलामको सन्दकपुर गाउँपालिका वडा नं। ४ स्थित माबुको हाङमादेनमा आयोजित महागुरु फाल्गुनन्दको जन्मजयन्तीको केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा कार्यक्रम हुने भएको हो ।
Advertisement
महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती मूल समारोह समुद्घाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनज्यूहरुको विशेष समुपस्थिति हुने गुरु माङसवार संयोजन संस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएको छ ।
जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष इलामको सन्दकपुर गाउँपालिकाको वडा नं। ४ माबुमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । समारोह समुद्घाटनसँगै अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट नव निर्मित किरात फाआप मिङ्सो माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण कार्यक्रम हुने किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले जनाएको छ ।
कार्यक्रममा नेपाल लगायत विभिन्न स्थानका किरात धर्मावलम्बीको बाक्लो उपस्थिति रहने आयोजक समितिका सचिब बि.बि. हाङ साउदेनले जानकारी दिए । साउदेनका अनुसार ११ फुटे महागुरु शालिक माङसेबुङबाट कार्यक्रम स्थल पुर्याई सकेको र बाँकी काम भइरहेको छ ।