धरान / सम्बाहाङफे समाज नेपालले सम्बाहाङफे वंशजको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ ।
शनिबार लिम्बुवान सुनसरीको धरान विजयपुरस्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे थरको पुस्तक विमोचनमा प्रदेश नं. १ (कोशी प्रदेश)का प्रदेश प्रमुख पर्शुराम खापुङको हस्तवाहुलीबाट वंशावली विमोचन गरेको हो ।
सम्बाहाङफेहरुको इतिहास, उद्गमस्थल, संस्कार संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, मुन्धुम, वंशबृक्ष समेटेर तयार गरिएको पुस्तक जम्मा ४८५ पृष्ठ रहेको छ भने मुल्य एक हजार रहेको छ । पोक्लाबाङ यकलाई आफ्नो माङगेन्ना यक मान्ने सम्बाहाङफेहरु नाम्बो नाम्हाङदिङ, सिदिइङ हुदै तेनहाङ (सातरे/नुहाङ) अन्तर्गत तेनहाङको कान्छी श्रीमती पट्टीको मिखेम्याङको सन्तान योहाङमुक्पाको सन्तान नै सङबाङफे भन्ने पुस्तकमा उल्लेख गरेको छ ।
Advertisement
सम्बाहाङफेहरुको उद्गमस्थल पोक्लाबाङ कोबेकबाट हाल तेह्रथुमको फेदापका विभिन्न स्थानहरु आङबुङ, ओयाक्जुङ, तउमा, सिम्ले, लायङबासंगै अन्य जिल्लाहरु धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, काठमाडौ लगायत देश बिदेशमा उल्लेख्य मात्रामा सङबाङफेहरुको बसोबास रहेको छ ।
विमोचन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि खापुङले सम्पुर्ण जातजाति र समुदाय आफ्नो पहिचान स्थापित गर्न सक्रिय हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।कार्यक्रममा कोशी प्रदेश इन्चार्ज प्रमुख नेपाल प्रहरी डिआईजी चन्द्रकुबेर खापुङ, पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, सेङसेङगुम फेदापहाङ सातरे(नुहाङ) बंशावली खोज अनुसन्धान उपसमिति सचिव नर प्रसाद लुम्फुङ्वा,मुसाहाङ समाज केन्द्रीय महासचिव मुसाहाङ अम्याङ्सा, हाङस्रोङ उत्थान समाज प्रतिनिधि प्रबेग हाङस्रोङ, लेखक हितराम तिल्लिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बंशावलीको औचित्य माथि सम्बाहाङ्फे समाज नेपाल संस्थापक अध्यक्ष/महासचिव मानध्वज सम्बाहाङ्फेले प्रकाश पारेका थिए । सम्बाहाङ्फे समाज नेपाल संरक्षक विजय सम्बाहाङफे र वरिष्ठ उपाध्यक्ष दीपक सम्बाहाङफेको लेखन सम्पादन रहेको छ ।कार्यक्रम सम्बाहाङ्फे समाज नेपाल अध्यक्ष टेक बहादुर सङबाङ्फेको अध्यक्षतामा सम्पन्न भएको थियो स्वागत मन्तव्य वरिस्ठ उपाध्यक्ष दिपक सम्बाहाङ्फेले राखेका थिए भने संचालन सचिव मेगराज सम्बाहाङ्फेले गरेका थिए ।