माङसेबुङ – संसारभरका किरात धर्मावलम्बीले आज बैशाक २४ गते सोमबार विविध कार्यक्रमको आयोजना गरि ९४ औँ किरात समाज सुधार दिवस मनाउँदैछन् ।
विसं १९८८ वैशाक २४ गते पाँचथरको लब्रेकुटीमा किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सक्रियतामा तत्कालीन १० लिम्बुवान १७ थुमको तुत्तु तुम्याहाङको विराट भेलाले किरात समाजमा व्यव्त कुरिति कुसंस्कार हटाई सुसस्कृत समाज निर्माणका लागि सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो ।
Advertisement
त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते संसारभरका किरात धर्मावलम्बीले विदेशमा हंककङ , अमेरिका, अष्ट्रेलिया लगायत नेपालको विभिन्न जिल्लाहरु काठमाडौ , ललितपुर , ताप्लेजुङ ,पाँचथर , धनकुटा , इलाम , झापा, मोरङ, सुनसरी लगायत किरात धर्मावलम्बीले समाज सुधार दिवसको रूपमा मनाउने गर्दछन ।
सत्य धर्म मुचुल्का निम्न छन् :
१. छोरी–चेलीको सोतरीत नखानु, नलिनू ।
२. शुद्धाई (बर्खान्त) मा बली नदिनू ।
३. परिवारका सदस्यको मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।
४. सुत्केरी २२ दिनपछि चोख्याउनू ।
५. सुँगुर, कुखुरा नखानू ।
६. इष्टमित्र, कुल–कुटुम्ब आउँदा, भेटघाट हुँदा जाँड, रक्सी लगायत (मदमांस) प्रयोग नगर्नू ।
७. बर्खान्त गर्दा फलफूल, नैवद्य र अदुवा चढाउनु ।
यसरी मुचुल्कामा समाज सुधारका सात बुँदा सार्वजनिक गरिएको थियो । किरात समुदायमा सुधारको घोषणा गर्ने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६औँ राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
यसैगरी विसं १९८८ वैशाख २४ गते बिराट चुम्लुङ बसेर ‘सत्यधर्म मुचुल्का’ जारी भएको लब्रेकुटीमा विसं २०७३ वैशाक २४ गते किरात समाज सुधारस्तम्भ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुले अनावरण गर्नुभएको हो । यो ठाउँलाई महागुरु फाल्गुनन्दको पावन कर्मभुमिको रूपमा किरात धर्मावलम्बीले पवित्र तीर्थस्थलका रूपमा मान्ने गर्छन् ।