इलाम : जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको आयोजनामा आज (शनिबार) देखि १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ ।
माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
Advertisement
फागुन १२, १३ र १४ गते हुने प्रतियोगितामा प्रत्येक पालिकास्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।
प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टमा १० वटै पालिकाबाट एक हजार दुई सय जनाको सहभागिता रहने कार्यालय प्रमुख भट्टराईले बताए । उनीहरुलाई स्थानीय चिसोपानी पञ्चमी बजार र रक्से बजारका २४ वटा होटल र होमस्टेमा व्यवस्थापन गरिने भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते, तेक्वान्दो र उसु खेल सञ्चालन हुनेछन् । छात्र र छात्रा दुवैको दौडतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटरको दौड एवम् ४००० मिटर र ४४०० मिटरको रिले दौड प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै, उफ्रने र फ्याँक्नेतर्फ छात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याब्लिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड र छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याब्लिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड सञ्चालन हुनेछन् ।
मार्सल आर्ट अन्तरगत कराँतेमा छात्रतर्फ अन्डर ४२ केजी, अन्डर ४७ केजी, अन्डर ५२ केजी, अन्डर ५७ केजी, अन्डर ६२ केजी र काता (एकल) एवम् छात्रातर्फ अन्डर ४० केजी, अन्डर ४५ केजी, अन्डर ५० केजी, अन्डर ५५ केजी, अन्डर ६० केजी र काता (एकल) सञ्चालन हुनेछन् ।
तेक्वान्दोमा छात्रतर्फ अन्डर ४५ केजी, अन्डर ४८ केजी, अन्डर ५१ केजी, अन्डर ५५ केजी, अन्डर ५९ केजी र एकल पुम्से एवम् छात्रातर्फ अन्डर ४२ केजी, अन्डर ४४ केजी, अन्डर ४६ केजी, अन्डर ४९ केजी, अन्डर ५२ केजी र एकल पुम्से सञ्चालन हुनेछन् । त्यस्तै, उसुमा थाओलुतर्फ र सान्सौतर्फ छात्र र छात्रा दुवैतर्फ प्रतियोगिता हुनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेता टिम एवम खेलाडीले राष्ट्रपति रनिङ शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एवम् खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष बाँस्तोलाले बताए ।
विगतमा इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालेको हो । गत वर्ष फाकफोकथुम गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको थियो । जिल्लास्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्षसाथ सदरमुकामबाहिर लैजाने निर्णय गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले बताए । प्रतियोगिता प्रत्येक वर्ष फरक-फरक पालिकामा सञ्चालन गर्ने सहमति भएको उनले बताए । nayabulanda.com