झापा / किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर-कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा साहित्यकार रचना लाओती पुरस्कृत हुनुभएको छ ।
जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा-भवनदाता नरेन्द्र बहादुर आङ्बुहाङको ९६औं जन्म-जयन्ती समारोहमा साहित्यकार लाओतीलाई पुरस्कृत गरिएको हो ।
Advertisement
समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय सदस्य अमृत योङहाङले साहित्यकार लाओतीलाई तीन हजार नगद सहित सम्मान-पत्र प्रदान गर्नुभयो भने दाता नरेन्द्र बहादुर आङ्बुहाङकी कान्छी बुहारी लक्की थेबे आङ्बुहाङले लाओतीलाई दोसल्ला ओडाएर सम्मान गर्नुभयो ।
लिम्बू/याक्थुङ भाषा र नेपाली भाषामा कविता, गजल र उपन्यास विधाका ८ वटा कृति प्रकाशन गरि दमक नगरमा कर्मक्षेत्र बनाई निरन्तर साहित्य यात्रामा अघि बढिरहेकी साहित्यकार रचना लाओतीलाई २०८० को स्मृति साहित्यकार प्रदान गरिएको हो भने विगत वर्ष २०७८ सालमा साहित्यकार स्व. नरबहादुर योङहाङ (नवल फाइवाली) र २०७९ सालमा साहित्यकार सेसेमी से-नाल्वोलाई सो पुरस्कार प्रदान गरिएको थियो ।






















