माङसेबुङ । आत्मानन्द कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु हुदैछ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज हुने उद्धघाटन खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति र पाहुना टिम बि.वाई.सी भुटानबीच अपरान्ह २:३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने पुरुष फुटबल प्रतियोगिताको प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्धघाटन गदैछन् ।
Advertisement
प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् । माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी। दार्जिलिङ भारत र बि.वाई.सी। भुटान सहभागी छन् ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
अतिरिक्त खेल तर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ,छेलो हान्ने, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, कराते लगायतका खेलहरु समेत संचालन हुनेछ ।
२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ७० रुपैयाँ पुगेको हो ।