आज महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती संसारभर मनाइँदै

दमक । किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती संसारभर आज शनिबार  विविध कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाइँदैछ । त्यस्तै राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका – ९, चिल्लागढधाममा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती केन्द्रीय कार्यक्रम यस वर्ष आयोजना गरिएको छ । कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको माङसवारी हुनेभएको छ । सो स्थानमा नव निर्मित किरातेश्वर हाङसाम माङहिम उद्घाटन एवं महागुरु फाल्गुनन्द लिङ्देनको पुर्ण कदको सालिक अनावरण गरिने आयोजक समितिले जनाएको छ ।

Advertisement

कार्यक्रममा वन तथा वातावरण मन्त्री माननीय वीरेन्द्रप्रसाद महतोको प्रमुख आतिथ्यमा महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती मूल समारोह समुद्घाटन हुने आयोजक समितिका प्रचारप्रसार विभाग संयोजक डिल्लीहाङ इङनामले बताएका छन् ।

सोही  दिन झापाको अर्जुनधारा – ५, डाँडागाउँमा जनजाति कल्याण आश्रम नेपालद्धारा सञ्चालित फाल्गुनन्द छात्रावास अङसीमाङ तथा अङसीमामाङहरुको हस्तवाहुलीबाट उद्घाटन  हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

फाल्गुनन्द जन्मजयन्ती 

इलामको माङसेबुङ गाउँपालिका – २, साविक इभाङ गा.वि.स – ५, चुक्चीनाम्बामा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कातिक २५ गते आइतबारका दिन  साईला छोराको रुपमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भएको थियो । वि.स. २०६६ साल मंसिर १६ गते  नेपाल सरकारले महागुरु  फाल्गुनन्द लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो , त्यस्तै किरात धार्मिक संस्थाहरुले वि.स. २०७१ साल बैशाख २४ गते किरात चाडका रुपमा मनाउने घोषणा गरे, त्यसैगरी अहिले पर्वकोरुपमा फाल्गुनन्द जन्मजयन्ती कातिक २५ गते विश्वव्यापी मनाइन्छ ।

त्यस्तै ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर , ओखलढुङ्गा लगायतका किरात धर्मावलम्बीहरुको बसोबास रहेको ठाउँमा जन्मजयन्ती मनाउदैं आइरहेको छन् ।

यसैगरि अन्तराष्ट्रिय स्तरमा कुवेत, भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी अरब, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड, सिङगापुर ,साइप्रस लगायतका विश्वका विभिन्न देशहरुमा फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ ।

विगतको वर्षझै  निजी गुरु आश्रम लारुम्बामा कातिक २४,२५ र २६ गते आयोजित कार्यक्रममा १ हजार १ सय ३९ ओटा तामाको गाग्रो र कलससहित महागुरु फाल्गुनन्द जयन्तीमा लारिङगेक नाम्लीङगेक खेलेर महागुरुको जन्मजयन्ती मनाउने गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापोले बताए । यसैगरि कातिक २६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्यूले आशिर्वचन प्रदान गर्नुहुने कार्यक्रम रहेको तुम्बापोले जनाएको छ  ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु