आत्मानन्द कप ८ मंसिरदेखि शुरु

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८०’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ८ देखि सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Advertisement

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु