लाहुरे परिवारको वियोगको हृदयविदारक कथा–के सन्देश बोकी ल्यायौं

आङबुहाङ अबोध अविरल

भर्खर विबाह गरेकी किशोरी । पेटमा बढ्दै गरेको बच्चा । हजारौं किलोमिटर टाढा समुन्द्र पार ब्रिटिस पल्टनमा श्रीमान् । श्रीमानको पत्र आइपुग्न महिनौं लाग्ने । समुन्द्रबाट आकास ढाकेर उड्दै आउने बादलले परदेशीको केही सन्देश ल्याउला कि भनेर टोलाउने निर्दोष मायालु श्रीमती ।

Advertisement

लाहुरे श्रीमानको सम्भनामा रुमल्लिएको श्रीमती, सपनामा पनि भेट्न नपाएपछि वनपाखामा उदास र उराठ मान्दै दाउरा घाँस गर्छिन् । चुरे पहाडबाट समथल मैदानको क्षितिज नियाल्छिन् । पंक्षी बनी उड्दै, जुन बनी आकासबाट समुन्द्रपारी रहेको श्रीमानलाई हेर्ने उत्कट अभिलासा उनमा जाग्छ । श्रीमानको सम्झनामा पिरोलिंदा मुट दुखेर भक्कानिन्छिन् । उनीहरुको मायाँको चिनो सन्तानको जन्म हुन्छ । यो खुशी सुन्न नपाउँदै लाहुरेका लडाइँमा निधन हुन्छ । सुखद खबरको पर्खाइमा रहेकी लाहुरेनीको श्रीमानको लास घरमा आइपुग्छ । उनको जीवनमा बज्रपात हुन्छ । यो हृदय विदारक कथा निलम आङबुहाङको रचना, सुरेश अधिकारीको संगीत र सञ्जिबनीको स्वरमा रहेको ‘के सन्देश बोकी ल्यायौं’ शीर्षकमा रहेको गीतको म्युजिक भिडियोको हो ।

वि.सं. १८७१ देखि १८७३ सम्म चलेको नेपाल अंग्रेज युद्ध पश्चात सुगौली सन्धि भयो । सुगौली सन्धिमा नेपालको करिब एक तिहाइ भु–भाग भारतमा गाभिन पुग्यो । नेपालले गुमाएको क्षेत्रमा रहेका गोर्खाली सेनालाई संगठित गरेर अंग्रेजले गोर्खाली सेना गठन गरेको थियो ।

पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा लाखौं लाहुरे बलिदान गरे । लाहुरमा भर्ती गर्न ठाउँ ठाउँमा डिपोहरु स्थापना गरिएको थियो । ब्रिटिस र भारतीय गोर्खा सेनामा भर्ती भई लाहुरे बन्ने क्रम बढ्यो । कालन्तरमा लाहुरे संस्कृति खासगरी आदिवासीहरुको जनजाति जीवन पद्धति, आर्थिक आधार र संस्कृति बन्न पुग्यो । पल्टनमा श्रीमान् रहँदा परिवारसँग अलग्गिएर बस्नु पर्ने । ज्यान गुमाए कलिलो उमेरका आमाहरु विदुवा बन्ने नियती लाहुने परिवारले करिब दुईसय बर्षदेखि भोग्दै आएको छ । यही कथालाई निर्देशक भुपेन्द्र तुम्बाहाङफेले म्युजिक भिडियोमा उतारेका छन् ।

डिजिटल सञ्चारको विकास हुनुपूर्वको ‘टाइम सेटिङ’ले परदेशी श्रीमानको खबर पाउन बादल र काग वा चराचुरुङगीको सन्देश पहिचान गर्नु पर्ने बाध्यतालाई मार्मिक तवरले प्रस्तुत गरेको छ । पहाडको ‘प्लेस सेटिङले’ लाहुरे संस्कृति मौलाएका राई, लिम्बू समुदायको कथालाई स्वभाविक बनाएको छ । तुम्बाहाङफेको म्युजिक भिडियोले गीतलाई थप कलजयी बनाइ राख्न सहयोग गर्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु