परिचय
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको जन्म दिन मंसिर १८ को अवसरमा ‘आत्मानन्द गोल्डकप’ आयोजना गरिन्छ । आत्मानन्द कपमा पुरुष फुटबलका साथै विभिन्न मुन्धुमी र मौलिक खेलहरुका प्रतियोगिता गरिंदै आएको छ । कपको सुरुवात वि.संं २०६५ साल मंसिरबाट भएको हो ।
Advertisement
खेलकुदको माध्यमबाट मनोरञ्जन, अनुशासन, सद्भाव र खेल विकासका निम्ति आत्मानन्द कपको थालनी गरिएको थियो । साथै खेलकुदको माध्यमबाट किरात धर्मगुरुज्यूको अहिंसा, मानवता, समानता, एकता, शिक्षा र साकाहारी जीवनपद्धती जस्ता जीवनदर्शनको सन्देश छर्ने उद्देश्य राखिएको छ । आत्मानन्द कप नेपालको निरन्तर आयोजना हुने एक प्रतिष्ठित कपको रुपमा स्थापित भएको छ ।
खेतको गरादेखि रंगशालासम्म
आत्मानन्द कप शुरु गर्दा खेल मैदान थिएन । वि.स. २०६५ मंसिर ८ गते माङसेबुङ ३ मा अवस्थित चनौटे बेंसीको एक ठूलो गराबाट खेल शुरु गरिएको थियो । सो संस्करणमा इलाम, झापा र मोरङका १६ टिम सहभागी थिए । २०६६ देखि ६८ सालमा आयोजित दोस्रो, तेस्रो र चौथो संस्करण माङसेबुङ ५ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरियो ।
आत्मानन्द कपका निम्ति आवश्यक रंगशाला निर्माणको पहल थालियो । माङसेबुङ ५ मा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिमको नजिक आफ्नै खेल मैदान निर्माण शुरु भयो । यसैक्रममा २०६९ मा निर्माणाधिन आत्मानन्द रंगशालामा खेल मैदान तय भयो । त्यस यता सोही रंगशालामा आत्मानन्द र पवित्राहाङमा कप सञ्चालन गरिँदै आएको छ । आत्मानन्द कपलाई थप व्यवस्थित गर्न आफनै अत्याधुनिक, बहुदउद्देश्यीय रंगशाला निर्माणको काम भइरहेको छ ।
पन्ध्र हजारदेखि तीनलाख पुरस्कार
आत्मानन्द कपको प्रथम संस्करणको सानो पुरस्कार राशीबाट शुरु गरिएको थियो । खेतको गरामा आयोजना गरिएको पुरस्कारको राशी रु. १५ हजार पैसठ्ठी रहेको थियो । त्यसपछि राशीलाई हरेक वर्ष बढाउदै लगियो । दोस्रो संस्करणमा ५० हजार र तेस्रो संस्करण ७५ हजार पुरस्कार बनाइयो ।
छैटौं संस्करणमा पुरस्कार राशी एक लाख पु¥याइयो । पुरस्कार एक लाख पुगेसँगै राम्रा क्लबहरुको सहभागिता हुन थालेको हक्चातका उपाध्यक्ष मनोज सिवाकोटी बताउँछन् । २०७४ सालदेखि आत्मानन्द कप आमन्त्रित कपको रुपमा विकास गरियो । त्यसपछि छानिएका स्थापित ८ क्लबहरुलाई खेलका निम्ति फेयर दिएर आमन्त्रण गर्न थालियो । २०७४ सालदेखि २ लाख र २०७७ सालदेखि ३ लाख पुरस्कार राशी रहेको छ ।
आत्मानन्द कपका विजेताहरु
आत्मनन्द कपको पहिलो संस्करणमा १६ टिमले प्रतिस्पर्धा गरेको थियो । पहिलो र दोस्रो संस्करणको विजेता पकलिराम माङसेबुङ बन्यो । आत्मनन्द कपको सबैभन्दा धेरै संस्करण सयपत्री सर्बोतममुखी यासोक पान्थरले जितेको छ । सयपत्री नवौं, दसौं र एघारौं संस्करणमा विजेता बनेको थियो । यसैगरी कपको दुई संस्करण पकलिराम र बिबिएफसि दमकले जितेका छन् ।
आत्मनन्द कप एकपल्ट मात्र भारतको टिमले जितेको छ । पाहुना टोली एम एफ सि दार्जिलिङले आत्मानन्द कपको १२ औं संस्करणको कप दार्जिलिङ पु¥याएको थियो ।
आयोजक
किरात धर्मगुरुज्यूको जन्मोत्सव मूलसमारोहले मूल रुपमा आयोजना गर्छ । समारोहले खेलकुद विभागीय जिम्मेवारी तत्कालीन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष वनेम विक्रम फागोलाई दिएको थियो । नालीफुङवाका अध्यक्षको संयोजकत्व र मनकुमार आङबुहाङको सह संयोजकत्वमा २०६५ र ६६ को आत्मनन्द कप सञ्चालन भयो । सोही समयमा आत्मनन्द कपमा एक तोला सुन र १०० तोला चाँदी जडान गरिएको थुन्चे आकारको मौलिककपको डिजाइन गरियो । जसको परिकल्पना तत्कालीन संयोजक वनेम विक्रम फागोले गरेका हुन् । कप निर्माणमा देउमानआङबुहाङले आर्थिक संयोजन गरेका थिए ।
खेलकुदलाई थप व्यवस्थित गर्न २०६७ सालमा राजेन्द्र विक्रम खजुमको अध्यक्षतामा किरात साम्यो हक्चात यक्चुमको स्थापना गरियो । यो समितिको अधिवेशन २०६८ मा सम्पन्न भयो । खजुम २०७३ सम्म अध्यक्ष मनकुमार आङबुहाङ सचिव रहेका थिए । यसले आत्मानन्द कपलाई व्यवस्थित रुपमा सञ्चालन गर्न शुरुवात गरेको थियो ।
२०७४ पछि संस्थापक उप संयोजक मनकुमार आङबुहाङ हक्चातको अध्यक्षमा चुनिए । उपाध्यक्ष मनोज सिवाकोटी र सचिव सरिता राई छनौंट भए । त्यसपछि सोही समितिले निरन्तर आत्मानन्द कपको संयोजन गर्दैआएको छ ।
सहभागी टिम, खेलाडी र रेफ्री
आत्मानन्द कपमा नेपालको ए डिभिजनमा र जिल्लाका उत्कृष्ट टिमहरु सहभागी हुँदै आएका छन् । यसका साथै भारत र भुटानका टिमहरुसमेत अतिथि टोलीको रुपमा खेलमा सहभागी हुने गरेका छन् ।
यस अघिका संस्करणहरुमा झापा ११, एम एफ सि दार्जिलिङ, फिदिम स्पोर्टिङ क्लब, सगरमाथा युथ क्लब, तिजोक युवा क्लब, रेडहर्ष इलाम, फुटबल संघ धनकुटा, बिबिएफसि दमक लगायतका टिम सहभागी भएका छन् ।
कर्ण लिम्बू, रजिन धिमाल, देबेन्द ्रतामाङ, बुद्ध चेम्जोङ, छिरिङ गुरुङलगायतका नेपालको राष्ट्रिय टिमका खेलाडीहरुले आत्मानन्द कपमा खेलेका छन् । यसैगरी भारत लगायत नाइजेरियन खेलाडी पेपेले समेत खेलिसकेका छन् ।
आत्मानन्द कपमा एन्फा र फिफा रेफ्रिहरुबाट खेल सञ्चालन गरिँदै आएको छ । यस अघिका रेफ्रीहरुमा मिन मगर, माधव मिभक, राजु थापा, बलराम भूजेल, प्रवेश शर्मा, सन्तोष चौधरी र श्याम दनुवार लगायतका रहेका छन् ।
आर्थिक व्यवस्थापन
आत्मानन्द कपको पछिल्लो संस्करणहरुमा बीस लाखको हाराहारीमा वजेट रहेको छ । यो खेल सञ्चालन गर्न संसारभर छरिएर रहेका किरात धर्मावलम्बीहरुले आर्थिक तथा जिन्सी सहयोग गर्ने गरेको संयोजक मनकुमार आङबुहाङ बताउँछन् । कपमा गुरु माङगेन्ना समारोह, गुरु आश्रम, माङसेबुङ गाउँपालिकाको निरन्तर सहयोग रहेको छ ।
आत्मानन्द कपको १७ औं संस्करणको प्रथम पुरस्कार किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ र दोस्रो पुरस्कार माङसेबुङ सेवा समाज दक्षिण कोरियाले गरेको छ । यसैगरी २०६६ सालको संस्करणमा दक्षिणकाली कन्र्सट्रक्सनले सो संस्करणको प्रथम पुरस्कार ५० हजार प्रदान गरेको थियो ।