कविता
मिक्लाजोङ पहाड र सिंहदरबार
Advertisement
युगौँ देखि उस्तैगरी
उभिएको छ, यो मिक्लाजोङ पहाड।
आदिवासी बादलको आँचलले फेरो लगाइरहन्छ
फुल्छन् जीवनको रंग जस्तै फुलहरु
पंक्षीको माधुर्य धुन
कस्तरी, आँटेको होला जिवन्त विविधता यो पहाडमा ?
मुन्धुममा वर्णित
जलप्रलयपछी
लेप्मुहाङले कसरी बचाउन सकेछन् सबैको साझा अस्तित्व?
ओ हौ, शासक हुनु त त्यस्तो पो!
युगौँ देखि उस्तैगरी
उभिएको छ यो, मिक्लाजोङ पहाड
यसको फेदिमा बसेका हामिहरुले
कहिल्यै यो पहाडलाई हाम्रो ‘मात्रै’ भनेनौ।
हामी ‘मानिस’ लाई थाहा थियो
पहाडको सौन्दर्यशास्त्र, एउटा किराको अस्तित्वमा अडिएको छ भन्ने।
उस्तैगरी
समग्र विचारको प्रतिनिधि भएर
निक्कै वर्ष भो, उभिएकै छ सिंहदरवार।
त्यहाँका प्रत्येक इटालाई ‘प्रतिनिधि’ मानेका हौँ
त्यहाँका प्रत्येक झ्याल र ढोकालाई ‘बहुल सञ्झ्याल’ मानेका हौँ।
यसरी,
एकएक इटाको अस्तित्वमा उभिएको
सिंहदरवार, बलियो भएकै जाति।
फलतह, यहाँको सौन्दर्य शास्त्र खस्केको छ ।
हरेक समय किन बज्छ डरलाग्दो साइरन, ‘एउटा फुल’ को लागि?
को द्वारा कैद छ
सिंहदरवारको चाबी?
प्रत्येक रात यसरी
दरबारको पर्खालबाट
एकएक ईटा झिकेर फाल्ने काम कसले गर्छ?
मिक्लाजोङ सौन्दर्यको अपेक्षामा
एकलव्य गुरुदक्षिणा चडाइरहेछौँ ।
तिम्रो नैसर्गिक अधिकार भन्दै
राष्ट्रियताको अपनत्वको हार्दिकतामा
हाम्रो विचारमाथि खेल भइरहन्छ।
हाम्रो अपेक्षा जीवित रहन्छ ।
हामि सिसिफस बाँचिरहन्छौँ।
कवि : सुमन लिङ्देन